ज्ञानेन्द्रले उडिसा पुगेर भने- मैले पशुपतिनाथबाट आशीर्वाद लिएर आएको छु


ज्ञानेन्द्रले उडिसा पुगेर भने- मैले पशुपतिनाथबाट आशीर्वाद लिएर आएको छु काठमाडौँ : सोमबार राजधानीबाट भारत प्रस्थान गरेका पूर्व राजा ज्ञानेन्द्र शाह दुई दिनपछि बुधबार बल्ल मुख्य कार्यक्रम स्थल भारतको उडिसा राज्य पुगेका छन्। नेपालमा राजतन्त्रको अस्तित्व सकिएर गणतन्त्र आइसकेको भए पनि स्थानीय मिडियाहरुले ज्ञानेन्द्रलाई 'नेपालका राजा' भनेरै सम्बोधन गरिरहेका छन्। बुधबार बिहान उडिसाको भुवनेश्वरस्थित बिजु पटनायक अन्तर्राष्ट्रिय विमानस्थलमा ज्ञानेन्द्रलाई स्वागत गरिएको थियो। स्थानीय मिडियासँग कुरा गर्दै ज्ञानेन्द्रले भने, 'मैले पशुपतिनाथबाट जगन्नाथमा आशीर्वाद लिएर आएको छु।' ज्ञानेन्द्रले आफ्नो उडिसा बसाइको क्रममा जगन्नाथ मन्दिरमा पनि विशेष पूजा गर्ने कार्यक्रम छ। सांस्कृतिक रुपमा नेपाल र भारतलाई जोड्न चाहनु हुन्छ भनी सोधिएको प्रश्नमा ढाकाटोपी लगाएर कालो चश्मा ढल्काएका ज्ञानेन्द्रले प्रतिक्रिया दिए, अफ कोर्स, अफ कोर्स। ज्ञानेन्द्रको सुरक्षाका लागि सशस्त्र सेनासमेत तैनाथ गरिएको छ। उनले 'लोपोन्मुख' भारतीय देसी गाई जोगाउने उद्देश्य रहेको संगठन श्रीमार्गले आयोजना गर्ने मिसन वाउ काउ कार्यक्रमको आज उद्घाटन गरे। उडिसाको राठीपुरमा भएको अन्तर्राष्ट्रिय गौ सम्वर्द्धन महोत्वसमा ज्ञानेन्द्रलाई 'नेपालका राजा'कै हैसियतमा सहभागी हुन निम्तो पठाइएको थियो। सोही अवसरमा गौमाता मन्दिरको शिलान्यास गर्ने कार्यक्रम पनि छ।
Blogger द्वारा संचालित.